घडीमा १०:२० बजेको थियो, जब म वीरगंजको यातायात व्यवस्था कार्यालय पुगें। मुख्य सडकबाट छिर्दै गर्दा एक जना बिचौलिया टर्निङबाटै मलाई पछ्याउँदै आयो,
“हेल्लो दाई! के गर्नु पर्ने हो दाइ? यता आउनुस्…”

“ब्लु बुक नामसारी गर्नु छ,” कार्यालयको गेट अगाडी बाइक रोकेर मैले संक्षिप्त जवाफ दिएँ। उसले त झन् अधिकार जमाए जसरी मेरो फाइल मागेर नागरिकताको फोटोकपी गर्न अह्रायो। मलाई लाग्यो, एउटा सामान्य फर्म भर्न त म आफैँ सक्षम छु। मैले फाईल माग्दै, “भयो छोड्दिनु! म आफै गर्छु सबै” भने।

“सबै आफैँ गर्नुहुन्छ? भित्र पनि सबै आफैँ?” उसले व्यङ्ग्यात्मक शैलीमा म तिर हेर्यो।

“हो, म आफैँ गर्छु,” मैले अडान लिएँ। उमेरो जवाफ सुन्नेबित्तिकै उसको अनुहारको रङ बदलियो। उसले मलाई रिस र अहङ्कार मिश्रित नजरले माथिदेखि तलसम्म घुरेर हेर्यो। मानौँ ऊ भनिरहेको थियो, ‘यसको आँट त हेर!’

मधेसी मुलका जस्ता देखिने त्यी व्यक्तिले म तिर हेर्दै भन्यो, “ल ठिक छ, म हेर्दै छु तपाईँलाई! म पनि यहीँ छु।” उसको त्यो लवजमा सहयोग होइन, एउटा खुला चुनौती थियो। त्यो वाक्यको आशय प्रष्ट थियो— प्रशासनको जालोमा मलाई पाइला-पाइलामा अल्झाइनेछ र अन्ततः हार खाएर म उसैको शरणमा पुग्न बाध्य हुनेछु। उसको त्यो ‘हेर्दै छु’ भन्ने शब्दले मलाई सरकारी झ्यालहरूमा हुने सम्भावित सास्तीको एउटा पूर्वसंकेत दिइरहेको थियो।

म सँगै एउटै संस्थाबाट आफ्नो नाममा सवारी नामसारीका लागि आउनुभएको एकजना दिदीले भने झन्झट मोल्न चाहनुभएन र अर्को एक जना बिचौलियालाई आफ्नो फाइल सुम्पिनु भैसकेको थियो। यहाँबाट मेरो ‘अग्निपरीक्षा’ सुरु भयो।

कोठा न ४ जहाँ मेरो शुल्क कति लाग्ने भनेर निर्धारण गर्नु पर्ने थियो, त्यहाँ लाइनमा बसे। खासै भीड थिएन। लाइनमा बस्दै गर्दा एक तराई मुलका व्यक्ति आएर अगाडी फाइल सार्दै थिए। मैले उहाँलाई आफ्नो पालोमा बस्नुन भने। उसले म तिर हेर्दै ल ल भने। त्यसपछि फारममा निर्धारित शुल्क टिपाएपछि म लागे बैंक भुक्तानीको लागी जुन ठ्याक्क गेट बाहिर देब्रे पट्टि थियो।

म भित्तामा टाँसिएको बैंक विवरण हेर्दै, अन्य सेवा ग्राहीलाई सोध्दै भौचर भर्दै थिएँ ।

त्यी अर्को दिदीको बिचौलिया म कहाँ आएर सोध्दै थिए, “तपाई सबै आफै गर्ने हो? ”
मैले सोधिहेरेँ, “यसको कति लाग्छ त?”
“हजार” उसले बडो ढुक्कसँग भन्यो।
“भैगो, म आफैँ गर्छु,” मैले जवाफ दिएँ।
“पक्का हो नि? ल गर्नु-गर्नु, हेरौँ न त!” उसले ‘तपाईँको हबिगत के हुनेछ’ भन्ने भावमा टाउको हल्लाउँदै भित्र लाग्यो

उता बिचौलियाले आफ्ना ग्राहकका लागि लाइनमा बस्ने छुट्टै मान्छे भाडामा खटाएका हुँदो रहेछ। पैसा तिर्न मलाई आधा घण्टा जति लाग्यो, तर ती दिदीको काम केहि समयमै सकियो। बिचौलियाको नेटवर्क यति बलियो थियो कि उनीहरूले बैंक भुक्तानी गर्ने लाइनमा पनि आफ्नै साम्राज्य खडा गरेका रहेछन्।

अझ त्यहाँ विडम्बनाको कुरा त के थियो भन्दा, भुक्तानी विधि। म आफै ग्लोबल बैंक को खाता प्रयोग गर्छु तर online भुक्तानी सुविधा नहुँदा ग्लोबल बैंकको ATM Card बाट नै पैसा झिगेर फेरी ग्लोबल बैंकमै नगद deposit गर्नु पर्ने बाध्यता थियो। जसो तसो म बैंक भुक्तानी सकेर payment verify गर्न कोठा न ४ अर्को पट्टिको झ्याल तिर लागें।

सबैभन्दा उदेकलाग्दो दृश्य त ४ नम्बर कोठाको अर्को पट्टि झ्याल तिरको थियो। झ्याललाई पुरै प्लास्टिकले बारिएको, केवल तलतिर एउटा सानो प्वाल! भित्र हेर्न कि त भुइँमा टुक्रुक्क बस्नुपर्ने, कि त घुँडै टेकेर फाइल बुझाउनुपर्ने। यस्तो लाग्थ्यो, मानौँ सेवाग्राही होइन, कुनै अपराधी दयाको भिख मागिरहेको छ। त्यहाँ पनि बिचौलियाहरू बीचमै हात छिराएर फाइल अगाडि सार्न खोज्थे। मैले कडा स्वरमा “मेरो पालो हो” भनेपछि मात्र उनीहरू अलिक हच्किए। बल्ल तल्ल सकेर कोठा नं ६ तिर अघि बढें।

महाभारत त ‘तामेली’ मा बाँकी थियो। जहाँ पहिले नै बिचौलियाहरुको भीड थियो। अब के गर्ने आफै अलमल्ल थिए । संस्थाबाट प्रतिनिधि बनेर आउनु भएको व्यवस्थापकले मलाई guide गर्दै भन्नुभयो, “अब यहाँ पुरानो ढड्डा (फाइल) खोज्नुपर्छ, यही हो मुख्य झन्झट।” मेरो फाइलसँगै बिचौलियाका फाइलका चाङ पनि भित्र छिरे। एकजना पाका कर्मचारीले मेरो फाइल सरसरती हेरे, नाम-ठेगाना टिप्न लगाए र खोज्न सुरु गरे। त्यही बेला हाकिम आइपुगे। मधेसी अनुहारहरूको भीडमा मेरो पहाडी अनुहार अलि फरक देखिएरै होला, हाकिमले टाढैबाट सोधे, “तपाईँको के काम थियो?”

“हजुर, नामसारी हो। फाइल खोज्दै हुनुहुन्छ,” मैले विनम्रतापूर्वक भनेँ। उनले “ल ल, हेर्दै हुनुहुन्छ” भन्दै टाउको हल्लाए।

“तपाईँको फाइल भेटिएन, खोज्न गाह्रो छ,” कर्मचारीले एक छिन खोजेर सहजै भनिदिए। विडम्बना! बिचौलियाले समातेका फाइलहरू एकपछि अर्को गर्दै चमत्कारिक ढङ्गले भेटिइरहेका थिए। मेरो भने अस्तित्व नै मेटिए जस्तो गरियो। बिहानदेखि पेटमा एक कप चिया बाहेक परेको थिएन, शरीर भोकले गलिसकेको थियो र मनमा काठमाडौँ फर्किने हतारो थियो। मैले हाकिमलाई आफ्नो व्यथा सुनाएँ, तर उनले सहानुभूति दिनुको सट्टा उल्टै मलाई नै निरुत्साहित पार्दै भने, “कतिपय फाइलहरू यहाँ भेटिँदै भेटिँदैनन्। तपाईँ आफैँ हेर्नुस् न, यहाँको अवस्था कस्तो छ!”

उता ती दिदीको फाइल जो बिचौलियाको भरोसामा हुनुहुन्थ्यो, बिचौलियाले क्षणभरमै आवश्यक विवरण अद्यावधिक गरी हाकिमको टेबलमा पुर्याइसकेको थियो।  म आफैँ अर्को पट्टि गएर र्‍याकमा आँखा डुलाउन थालें। अचम्म! मेरो फारम त त्यत्तिकै र्‍याकमा राखीएको अवस्थामा भेटियो। कर्मचारीले फाइल नखोजिकनै मलाई हैरान पारिरहेका रहेछन् भन्ने आभास भयो। त्यति बेला उनै बिचौलियाले “तपाईको काम हेर्दै जानु दिनभरी लगाइदिन्छ” भनेको सम्झिए।

मैले एकजना सहयोगी भाइलाई भनेँ, “यो फाइल यता दिनुस् त, मेरो हो। म प्राविधिकलाई देखाएर आउँछु।” प्राविधिक फाँटमा गएँ, त्यहाँ कर्मचारीले बाइकको फोटो त खिचे तर च्यासिस र इन्जिन नम्बर रुजु गर्ने झन्झटै गरेनन्। मौखिक सोधेरै हस्ताक्षर गर्दिए।

फाइल लिएर पुनः तामेली फर्किएँ। हाकिमलाई फेरि अनुरोध गरेपछि उनले त्यही सहयोगीलाई खोज्न अह्राए। तर तिनले फेरि पनि एक छिन हेरेको जस्तो गरेर “फाइल भेटिएन” भन्दै पुरानै कुरा दोहोर्याए। अब भने मेरो धैर्यको बाँध टुट्यो। म आक्रोशित हुँदै भने, “अब के त? मेरो काम नहुने हो? तपाईँहरू भेटिएन मात्रै भन्नुहुन्छ! बिचौलियालाई नै काम लगाउनुनै पर्ने हो? आफैले गर्छु सबै भन्दा नमिल्ने हो?” एकछिन पछि हाकिमको संकेतमा त्यही कार्यालय परिसर भित्र रहेका एक व्यक्ति जो कर्मचारी भन्दा पनि आफ्नै ग्राहकको फाइल खोज्न भित्र छिरेका बिचौलिया जस्ता देखिन्थे, उनले मेरो फाइल निकालिदिए। मेरो फाइल भेटिन कर्मचारी होइन, अर्को बिचौलियाको सहयोग चाहिने कस्तो बिडम्बना!

मेरो फाइल हेर्दै अर्को कर्मचारीले नयाँ खालि ब्लुबुकमा मात्र “प्रतिलिपि” लेखेर सहयोगीलाई उक्त फाइल मलाई दिन संकेत गर्दै थिए। त्यी कर्मचारीले मलाई त्यो पुरानो ढड्ढा र नयाँ ब्लु बुक दिंदै भने “ल, यो सबै आफैँ भर्नुस्।” म अकमक्क परें। “मैले तिरेको एक हजार सेवा शुल्क केका लागि हो? यो भर्ने काम तपाईँको होइन र?” “हामीलाई फुर्सद हुँदैन, कसैलाई (बिचौलिया तर्फ संकेत गर्दै) भर्न लगाउनुस् न” उनले सिधै पन्छिँदै जवाफ दिए।

मैले अलि अलि विवरण त भरें तर कहाँ के मेसो पाईन। अर्को सहयोगीलाई कडा स्वरमा भनेँ, “ब्लुबुक पानीले भिजेर मेटियो भनेर त नयाँ बनाउन आएको, अब यहाँ के-के भर्ने मलाई कसरी थाहा हुन्छ? मैले भर्दा बिगारें भने? तपाईँहरूले गर्नुपर्ने काम म किन बाहिर गराऊँ?” मेरो कडा प्रस्तुति देखेपछि मात्र ती भाइले ‘ल ल पख्नुस्, म भर्दिन्छु’ भन्दै अन्त्यमा विवरण भरिदिए। यसरी बिचौलियाको जालो र कर्मचारीको उदासीनतालाई चिर्दै बल्ल-तल्ल मेरो काम जसो तसो फत्ते भयो। जब काम सकियो, घडीमा १:५३ भएको थियो। मसँगै प्रक्रिया सुरु गर्नु भएको दिदी झन्डै १:३० घण्टा जति पहिल्यै काम सकेर घर फर्की सक्नु भएको थियो।

मैले मेरो स्वाभिमान जोगाउन त सफल भएँ, तर यो प्रणालीले एउटा सामान्य नागरिकलाई कतिसम्म सास्ती दिन्छ भन्ने नमीठो अनुभूति लिएर कार्यालयबाट बाहिरिएँ।

मेरो अनुभवबाट केही गम्भीर प्रश्नहरू:
१. बिचौलिया राजको अन्त्य कहिले? कर्मचारी र बिचौलियाको मिलेमतोले गर्दा इमानदार सेवाग्राहीले जानीजानी सास्ती भोग्नुपर्ने अवस्था छ।

२. सहायता केन्द्रको अभाव: सेवाग्राहीलाई कहाँ जाने, के गर्ने भन्ने सिकाउन एउटा औपचारिक सेवाग्राही सहायता केन्द्र (Help Desk) किन छैन?

३. बैंकिङ झन्झट: ग्लोबल बैंककै खाता भएर पनि अनलाइन भुक्तानी नहुँदा, एटीएमबाट पैसा झिकेर फेरि सोही बैंकमा जम्मा गर्नुपर्ने विडम्बनापूर्ण स्थिति।

४. डिजिटलाइजेशनको आवश्यकता: यदि डिजिटल रेकर्ड हुन्थ्यो भने फाइल हराउने बहानाबाजी र एउटा प्रदेशबाट अर्को प्रदेश धाउनुपर्ने बाध्यता हट्ने थियो।